सरकारले असार मसान्तसम्म मदिरा आयातमा रोक

सरकारले मंगलबारदेखि मदिरा आयातमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न १० सामग्री आयात रोकेको हो।

सरकारले कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा भित्र्याउन रोक लगाएको छ।

मदिरा आयातमा रोक लगाएसँगै होटल व्यवसायमा नकारात्मक असर देखिने होटल संघ नेपाल (हान) ले जनाएको छ। यो निर्णय पुनर्विचारका लागि सरकारसँग समन्वय गर्ने पहल गरे पनि सरकारले बेवास्ता गरेको उनी बताउँछन्। मदिरा रोक्दा हुने असर नबुझी निर्णय गरिएको हानका कार्यवाहकक अध्यक्ष विनायक शाह बताउँछन्।

उनका अनुसार कोरोना महामारीपछि बिस्तारै चलायमान हुँदै गरेको पर्यटन उद्योगमा यसले धक्का पुर्‍याउने देखिएको छ। नेपाल घुम्न आउने विदेशी पर्यटकको रोजाइमा प्रायः तारे होटल पर्छन्। त्यहीअनुसारको खाना र पेय पदार्थको स्वादमा उनीहरू रमाउँछन्।

‘तारे होटलमा बस्ने पर्यटकले त्यहीअनुसार उच्च र ब्रान्डेड मदिरा खोज्छन्। अब ल्याउनै नपाएपछि होटल सञ्चालकले के दिने? खोजेको कुरा खाना पाइँदैन भने नेपाल किन जाने भन्ने सन्देश पर्यटकसम्म पुग्छ,’ अध्यक्ष शाहले सेतोपाटीसँग भने।

देशको अर्थतन्त्र सुधारका लागि यति बेला सबै देशलाई पर्यटक चाहिएको छ। अन्य देशले पर्यटकीय गतिविधि बढाउन विभिन्न योजना र प्याकेज ल्याइरहेका बेला नेपालले भने भएकै नियम पनि बन्द गरेको उनले गुनासो गरे।

उनका अनुसार मदिरा आयातमा रोक लगाउने सरकारको यो निर्णयलाई हानले यसअघि पुनर्विचारका लागि पहल गरेको थियो। तर व्यवसायीहरूसँग छलफल नै नगरी सरकारको निर्णय आएको उनी बताउँछन्। सरकारको यो निर्णयले होटलमा भर्खरै खुलेका ढोका बन्द गरिदिए जस्तै भएको उनको भनाइ छ।

‘पर्यटन उद्योग यस्तो क्षेत्र हो जहाँ १० डलरको मदिरा आयात गरेर ३० डलरसम्म उत्पादन गर्न सकिन्छ। अर्थतन्त्रलाई माथि उकास्ने बलियो आधार पर्यटन हो। तर यो आयात रोक्दा समग्र होटल क्षेत्रलाई असर पुर्‍याउँछ’ उनले भने।

विदेशी पर्यटक आगमन संख्या बढिरहेका बेला सरकारले गरेको यो निर्णयप्रति होटल व्यवसायी पनि असन्तुष्ट छन्। कोरोना महामारीपछि तंग्रिदै गरेको होटल व्यवसायलाई सरकारको यो निर्णयले ठूलो क्षति पुर्‍याउने झापामा रहेको पाँचतारे डिलक्स होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटा बताउँछन्।

भारत, बंगलादेश, भुटान लगायतका विदेशी पर्यटकलाई लक्षित गरी खोलिएको मेची क्राउनमा अहिले पर्यटक आगमन संख्या राम्रो छ। तर पर्यटकले चाहेअनुसार सेवासुविधा दिन सकिएन भने आगामी दिनमा संख्या घट्ने उनी बताउँछन्।

‘क्यासिनोका लागि विदेशी पर्यटक आइरहनुभएको छ। धेरैको रोजाइमा विदेशी ब्रान्डेड मदिरा नै हुन्छ। यो बेला उहाँहरूले चाहेको सेवा दिन सकिएन भने व्यवसाय घट्छ,’ उनले भने।

त्यस्तै बार, नाइट क्लबमा पनि मदिराको खपत बढी हुन्छ।

क्लब जानेहरूको रोजाइमा विदेशी ब्रान्डका मदिरा पर्ने हुँदा व्यवसायमा असर पर्ने ठमेलस्थित नाइट क्लब एलओडी (लड अफ द ड्रिंक्स) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रवीन श्रेष्ठ बताउँछन्।

उनका अनुसार एलओडीमा ७० प्रतिशत विदेशी ब्रान्डका मदिरा खपत हुन्छ। बाँकी ३० प्रतिशत स्वदेशी ब्रान्डको।

‘केही दिनयता हार्ड ड्रिंक्सको अभाव देखिएको छ। सायद सरकारले आयात रोक्दै गर्दा यसको असर देखिएको हुन सक्छ। हामीकहाँ मौज्दात छैन। ठूलो मात्रामा खपत हुने हुँदा मौज्दात धेरै दिन राख्न सकिँदैन,’ श्रेष्ठले सेतोपाटीसँग भने।

एलओडीमा सबभन्दा बढी खपत हुने विदेशी ब्रान्डका ज्याक ड्यानियल्स, चिभास रिगल लगायत मदिरा हुन्। उनका अनुसार अहिल्यै यी मदिरा अभाव छ। झन् सरकारले आयात रोकेपछि व्यवसायमा असर देखिने उनी बताउँछन्।

‘बियरमा समस्या छैन। स्वदेशमै पनि राम्रा र ब्रान्डेड बियर उत्पादन भइरहेका छन्। तर ब्रान्डेड हार्ड ड्रिंक्सको आयात रोकिँदा व्यवसायमा असर पुग्छ,’ उनले सेतोपाटीसँग भने।

सरकारले आयात रोक्ने निर्णय गर्नुअघि नै मदिरा अभाव भइसकेको बिनायक स्टोर एकान्तकुनाकी निरू थापा बताउँछिन्। उनको स्टोरमा विदेशी ब्रान्डकै मदिराको व्यापार बढी हुन्छ। ग्राहक भने धेरै स्वदेशी हुन्। बिहेको सिजन भएकाले अहिले उनको स्टोरमा मदिरा किन्नेको भीडभाड देखिन्छ।

‘बिहे, भोजका लागि नेपालीले महँगा र ब्रान्डेड मदिरा खोज्छन्। स्टोरबाट होटल र रेस्टुरेन्टले पनि लैजान्छन्। तर कोरोना महामारीपछि मागअनुसार मदिराको आयात भएन,’ उनले भनिन्, ‘अब झन् मुश्किल हुन्छ।’

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्म एक अर्ब ४९ करोड ७१ लाख रूपैयाँको तयारी मदिरा आएको छ। यो रकमबाट १२ लाख ५० हजार लिटर सबै प्रकारका तयारी मदिरा आयात भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search