धादिङमा बस र कार ठोक्किँदा चार भारतीय र एक नेपाली गरी पाँच जनाको मृत्यु भएको छ।
आइतबार थाक्रे गाउँपालिका ७ जुङखोला स्थित पृथ्वी लोकमार्गमा बस र कार आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।
काठमाडौंबाट धादिङबेशी जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१-०२५ भ २९६८ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। उपचारका क्रममा कारका चालक तनहुँ खैरेनीका ३५ वर्षीय दिलबहादुर बस्नेतको मृत्यु भएको हो।
सवा ४ बजे टिचिङ अस्पतालमा उनको मृत्यु भएको कार्यालयले जनाएको छ।
त्यस्तै कारमा सवार भारत उत्तरप्रदेशका अन्दाजी ४५ वर्षीय विमलचन्द्र अग्रवाल, अन्दाजी ३५ वर्षीया साधना अग्रवाल, अन्दाजी ४० वर्षीया सन्ध्या अग्रवाल र अन्दाजी ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूमध्ये विमलचन्द्रको वीर अस्पताल र अरूको ट्रमा सेन्टरमा मृत्यु भएको हो।
यस्तै बसमा सवार धादिङ निलकण्ठ नगरपालिका-११ बस्ने २४ वर्षीय राम परियारको अनुहारमा चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।