बैशाख १० । सौराहामा स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को पाँचौँ राष्ट्रिय महाधिवेशन (आज) शुक्रबारदेखि सुरू भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो संघ स्वास्थ्यसम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकहरुको छाता संगठन हो ।
महाधिवेशनको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले चिकित्सा शिक्षा आयोगको गैरजिम्मेवारीका कारण ठूलो लगानीमा सञ्चालनमा रहेका कलेजहरु धराशायी हुने अवस्थामा पुगेको बताए । प्रा.डा. कोइरालाले चिकित्सा शिक्षा आयोग परीक्षा प्रणालीलाई सुधार गर्ने चरणमा रहेको भन्दै उनले यसबाट निजी कलेजहरुमा परेको समस्या सहमतिबाट समाधान खोज्न सकिने बताए ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेशराज दाहाल, रजिष्टार निलमणि पोखरेल, मेडिकल एण्ड एलाइट साइन्सका डिन शैलेन्द्रमणि पोखरेल, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका सभापति सन्देशदास श्रेष्ठ, नेपाल नर्सिङ एसोसियसनका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाल, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष शैलेन्द्र मोहन झा लगाएतले मन्तव्य राखेका थिए ।
दुई दिनसम्म चल्ने सो उक्त महाधिवेशनमा आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।