सुकुमबासी भन्छन – अब हामी सुकुमबासीले लालपुर्जा देख्नै नपाउने हो त ?

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

खैरहनी । स्थानीय तह निर्वाचनको संघारमा खैरहनीका सुकुमबासी समुदायले लालपुर्जा प्रदान गर्न सरकार उदासिन रहेको गुनासो गरेका छन् ।

नेपाल सुकुमबासी बसोवास बस्ती संरक्षण समाज खैरहनीको आयोजनामा शुक्रबार दलका प्रतिनिधीहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले तत्काल लालपुर्जा प्राप्त गर्नुपर्ने बताएका हुन् । खैरहनी–१३ हर्नरीका सन्देश तामाङले हजुरबुबाको पालादेखि लालपुर्जाको आशमा रहेको बताए ।

‘लालपुर्जा भन्दै बसेको पुस्तौँ भयो’, तामाङले प्रश्न गर्दै भने, ‘कि आउने पिढीले पनि कुरेरै बस्नु पर्ने हो ?’ खैरहनी–१० की शान्ति विकले लालपुर्जा दिन्छौँ भन्ने कि काम गरेर देखाउने भन्दै प्रश्न गरिन् । ‘हजुरबुबा हजुरआमाको पालादेखि लालपुर्जाको आवाज उठ्दै आएको छ, तर प्राप्त गर्न सकिएको छैन’, विकले भनिन्– ‘अघिल्लो पुस्ताको पीडा हामीले पनि सहनुपर्ने बाध्यता अन्त्य होस् ।’

कार्यक्रममा राष्ट्रिय भूमि आयोग चितवनका सदस्य नीरप्रसाद लामिछानेले अहिलेको आयोलले भूमिहीनहरुलाई उनीहरुको स्वामित्वको लालपुर्जा प्रदान गर्ने बताए । ‘आयोगले काम तीव्र पारेको छ’, सदस्य लामिछानेले भने, ‘स्थानीय सरकार, आयोगको सक्रियताले छिट्टै तपाई (सुकुमबासी)हरुले लालपुर्जा पाउनुहुनेछ ।’ यस प्रक्रियामा स्थानीय तह सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।

खैरहनी नगरपालिकाका प्रशासकीय अधिकृत एवं भूमि आयोग खैरहनी इकाइ श्रोत व्यक्ति नवीनराज रूवालीले नगरपालिकाले फाराम दर्ताको काम अन्तिम चरणमा पु¥याएको बताए । जग्गाको निस्सा प्रदान गर्न कुनै समस्या नरहेको भन्दै रूवालीले कतिपय वडामा निस्सा पठाइसकेको जानकारी दिए ।

नेपाल बसोवास बस्ती संरक्षण समाज खैरहनीका अध्यक्ष विक्रम महतोको अध्यक्षतामा भएको कार्यक्रममा नगरस्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आयोगले काम गरिरहेकाले सुकुमबासीहरुले ६ महिनाभित्र लालपुर्जा प्राप्त गर्नुपर्ने धारणा राखे । साथै उनीहरुले लालपुर्जा प्रदान गर्ने विषयमा आफूहरु चिन्तित रहेको बताए ।

नेकपा एमाले खैरहनी नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, नेपाली कांग्रेस खैरहनी नगर सचिव टीकादत्त इटनी, नेकपा माओवादी केन्द्र खैरहनीका अध्यक्ष रामेश्वर पोखरेल, नेकपा एकीकृत समाजवादी खैरहनीका अध्यक्ष प्रकाश रुपाखेतीले आआफ्नो धारणा राखेका थिए ।

बस्ती संरक्षण समाजका सचिव श्याम अधिकारीले संचालन गरेको कार्यक्रममा सदस्य इन्द्रमाया तामाङले नेपाल बसोवास बस्ती संरक्षण समाज केन्द्रीय समितिले जारी गरेको घोषणा–पत्र सार्वजनिक गरेकी थिइन् ।

खैरहनीसहित देशैभर सुकुमबासीहरुले नो भोट, नो लालपुर्जा अभियान सञ्चालन गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...