काठमाडौं वैशाख,५ ।
महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याउन सोमबार विहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पेरिसडाँडा पुगे ।
पार्टीले चुनाव लक्षित गतिविधि प्रचारका लागि प्रत्येक सोमबार गर्ने पत्रकार सम्मेलनको सुरुवातका लागि प्रचण्ड पेरिसडाँडा पुगेका थिए । त्यहाँ उनले बैठकको केही सूचना पनि चूहाए ।
६ महानगर र ११ वटा उपमहानगरमा समझदारी बनाउने प्रयास भइरहेको भन्दै उनले भने, ‘झण्डैझण्डै महानगर टुङ्गिने नजिक छ । मलाइ विश्वास छ, हामीले बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनभित्र तालमेलबारे एउटा निष्कर्षमा पुग्छौं ।’
पालिका तहसम्म सत्तारुढ दलहरुबीच तालमेल हुनेमा आशावादी देखिएका प्रचण्ड भरतपुर महानगरको मेयर माओवादी केन्द्रले पाउनेमा समेत विश्वस्त देखिए । भरतपुर माओवादीलाई दिनुपर्छ भन्ने कांग्रेसलाई नै लागेको भन्दै उनले भनेका छन्, ‘मोटामोटी सबै साथीहरुको भित्री मनमा के छ भने भरतपुर (माओवादीलाई) नै दिनु उचित हुन्छ । कांग्रेसलाई पनि लागेको छ ।’
६ महानगरपालिकामध्ये एउटा माओवादीले पाउने र त्यसमा भरतपुरको दाबी स्वभाविक भएको उनले बताए । तपाईंहरुलाई भरतपुर नै नभई भएन भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्, ‘भरतपुरै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन, तपाईंहरु प्रष्ट हुनुहोला । देशैभर ६ महानगरपालिका छन् । एउटा त माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनले काठमाडौं, विराटनगर, पोखरामध्ये एक दिए ठीकै छ । भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने होइन ।’
भतरपुरको नेतृत्व नछाड्न चर्को दबाव रहेको र त्यस विपरीत निर्णय गर्दा चुनावी नजिता प्रभावित हुन सक्ने कांग्रेस नेताहरु बताउँछन् । तर प्रचण्डले भने टिकट वितरणमा ससाना असन्तुष्टि हुनु स्वभाविक भएपनि खासै असर नपर्ने दाबी गरे ।
पार्टी निर्णय नै निर्णायक हुने भन्दै प्रचण्डले भने, ‘एउटै पार्टीभित्र त आन्तरिक विवाद र असन्तुष्टि हुन्छ भने ५ दल मिल्दा केही असन्तुष्टि हुने नै भयो । गठबन्धनले औपचारिक निर्णय गरिसकेपछि सबैले संस्थागत निर्णय नै मान्नुपर्छ ।’
महानगरमा ५०–५० को भागबन्डा
गठबन्धनमा आवद्ध दलहरुबीच महानथर र उपमहानरको नेतृत्वका लागि रस्साकस्सी परिरहेका बेला प्रचण्डले ५०–५० प्रतिशतको अनुपातमा बाँडफाँट हुने संकेत गरेका छन् ।
महानगरपालिकामा कांग्रेसले ५० प्रतिशत हिस्सा पाउने र गठबन्धनका अन्य दलले ५० प्रतिशत पाउने प्रचण्डको भनाइ छ । ‘हामीले प्रष्ट भनेका छौं, ६ मध्ये नेपाली कांग्रेसले ३ वटा महानगरपालिका लेओस्,’ प्रचण्डले भनेका छन्, ‘३ वटामध्ये माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले १/१ वटा लिँदा न्यायपूर्ण हुन्छ ।’
गठबन्धनको बैठकमा तीन दलका नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर लिन प्रस्ताव गरेका छन् । माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज लिने उनीहरुको प्रस्ताव छ । कांग्रेसमा भने महानगरको नेतृत्व नछाड्न चर्को दबाव छ ।
प्रचण्डले भने ५०/५० मा सहमति नजिक पुगिसकेको बताए । ‘करिब करिब हामी यही लाइनमा निष्कर्षनजिक छौं,’ पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘उपमहानगरपालिका पनि त्यही मोडलबाट टुंग्याउने तयारी छ ।’
सम्भव भएसम्मका ठाउँमा तालमेल हुने र अन्यत्र गठबन्धन भित्रका दलहरुबीच मित्रवत प्रतिष्पर्धा हुने बताउँछन् । ‘हामी निर्वाचनमा गठबन्धनबाटै जान्छौं,’ प्रचण्डले भने, ‘गठबन्धनभित्र ५ वटैको सहमति नहुन सक्छ । जहाँ जसको सहमति हुन्छ, त्यो गठबन्धन भित्रबाटै गरेर निर्वाचनमा जाने हुन्छ ।’