नयाँ वर्ष २०७९ को शुभकामना
छन्द: पन्चचामर
उमङ्ग, जोश साथमा नवीन वर्ष आउँदा
उराठिलो बिदा भयो वसन्त काल छाउँदा
गए झरेर जीर्ण पात पालुवा पलाउँदा
मुनाल नाच्छ कोइली सुरम्य गीत गाउँदा।१।
घटा फुटेर अल्पिँदा हिमाल हाँस्छ सानले
चिसो बतास साथमा पहाड रम्छ घामले
सिचिञ्छ खेत फाँटका तराइका गरागरा
हिमाल पग्लिँदा धरा बनिन्छ उच्च उर्वरा ।२।
समस्त जीव सर्गका सधैँ सकौँ हँसाउँन
थुतेर रोग जीवको सधैँ सकौँ बँचाउँन
हटाइ क्रोध चित्तको जगाउँ दिव्य चेतना
नवीन सौर्य वर्षको यही छ दिव्य कामना ।३।
भुलौँ सबै अतीतका अमित्र भाव भावना
मिलौँ सबै समाजमा बनेर फूल बासन
विषाक्त रोग – व्याधिको गरौँ मिलेर सामना
पुछेर आँसु आर्तको सिकाउँ मुस्कुराउँन ।४।
दियो समान पूर्ण भै प्रकाश छर्नु ज्ञानको
विवेक शुद्ध चित्तमा भरेर मूर्खवानको
उषा समान दीप्त भै अजान हर्नु अन्धको
गरौन अन्त्य आज नै सबै अनित्य बन्धको ।५।
खराब याद भावना सुकेर जीर्ण होस् सबै
विकार युक्त तर्कना फुटी विदीर्ण होस् सबै
असत्य पाप कर्मको गरौँ मिलेर सामना
नवीन वर्षमा यही गरौन दिव्य प्रार्थना ।६।
दया र दान दीनमा रहोस् विशेष मानको
सबै विवेकहीनता हरौँ अविद्यमानको
मनग्य खोट बिर्संदै नवीन चित्र साथमा
हिजो भुलेर आज चैँ सँगाल मित्र साथमा ।७।
सुरम्य सोच साथमा सशक्त युक्त आँटमा
विशेष नीति झल्कियोस् हरेक छाँटकाँटमा
बसौं सबै समाजमा भरेर प्रेम भावना
यही छ चाहना नयाँ यही छ उच्च कामना ।८।
अनेक युद्ध देखिए खुसी र शान्ति देखियोस्
सहिष्णु प्रेम भावको समाज क्रान्ति देखियोस्
अभाव भोक रोगको नहोस् प्रहार जीवमा
कृपा निगाह दानको बनोस् प्रसार जीवमा ।९।
दरिद्र आर्त वर्गमा खुसी सदैव बर्सियोस्
सुकेर कष्ट नष्ट होस् दुखेर दुष्ट तर्सियोस्
हरेक साथ साथ हुन् खुसी उमङ्ग चाहना
नवीन सौर्य वर्षको यही छ पूर्ण कामना ।१०।
कवि
खेमराज सुवेदी
Post Views: 212