काठमाडौं, वैशाख ५
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सोलुखुम्बु जाँदैछन् ।
सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलु जान लागेका हुन् ।
त्यहाँ योहो टेलिभिजनका कार्यकारी अध्यक्षसमेत रहेका कांग्रेस महासमिति सदस्य काजी शेर्पासहित कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ ।
शेर्पा कांग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाका मेयरका दाबेदार हुन् ।
ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संगठन विभाग खगराज अधिकारी, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको टोली सोलुखुम्बु जाने एमालेले जनाएको छ ।
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै, सचिवालय बैठक पनि आजै
स्थानीय तह निर्वाचन केन्द्रित एजेण्डाहरूमाथि छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दै छ ।
साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघि सचिवालय बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भनिएको थियो ।
सचिवालय बैठक अगाडि केन्द्रीय कार्यालयको बैठक बस्नेछ । केन्द्रीय कार्यालय बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय थापाथलीमा बस्ने छ ।
बैठकमा पार्टीका तर्फबाट बन्ने उम्मेदवार, चुनावी घोषणापत्र लगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।