धनगढीमा निर्माण सम्झौता भइसकेको सवा १२ करोडको पुल सार्न मेयरको दबाब

Share on facebook
Share on twitter
Share on linkedin
Share on pinterest

धनगढीः नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा नाकासम्मै डबल लेनको पक्की पुल निर्माणका लागि एक महिनाअघि निर्माण सम्झौता भयो। १२ करोड १७ लाखमा एक सय २५ मिटर लामो पक्की पुल निर्माणका लागि मोहनापुल अत्तरिया सडक योजना कार्यालय र रायमाझी कन्स्ट्रक्सनसँग निर्माण सम्झौता भएको थियो। तर धनगढीका मेयर नृपबहादुर वडले पुल सार्न योजना कार्यालय र निर्माण कम्पनीलाई दबाब दिन थालेपछि निर्माण कार्य रोकिएको छ।

नाकासम्मै जोड्नका लागि मोहना नदीमा पुल निर्माणको सम्झौता भएर काम सुरु गर्ने समयमा मेयर वडले पुल सार्न निरन्तर दबाब दिँदै आएको विषय बाहिर आएको हो। पुल निर्माणका लागि सम्झौता भएको स्थानभन्दा ७० देखि ८० मिटर पुर्वपट्टी पुल सार्नुपर्ने मेयरको दबाब छ। अहिलेकै अवस्थामा पुल निर्माणको काम अघि नबढाउन मौखिक रुपमा मेयरले दबाब दिइरहेको खुलेको हो।

६ लेन सडकअन्तर्गत गोदावरी नगरपालिकाभित्र सुनी खोला र मोहना नदीमा गरी २ वटा पुल निर्माणको काम भइरहेको छ। तेस्रो पुलको रुपमा धनगढीदेखि गौरीफन्टा नाका जोड्ने पुल निर्माणमा भने मेयर आफैले अवरोध गरिरहेको बुझिएको छ। पुल सार्न दबाब आइरहेको योजना कार्यालयका एक अधिकारीले बताए। ‘दबाबकै कारण पुल निर्माण कार्य अघि बढ्न सकेको छैन,’ उनले भने, ‘योजना कार्यालयले पुल सार्नुपर्ने कारण लिखित रुपमा दिन मेयरलाई आग्रह गरे पनि उनले मौखिक रुपमै दबाब दिइरहेका छन्।’

मोहना नदीमाथि वर्षौ पुरानो पक्की पुल साँघुरो रहेकाले सो पुलको चार मिटर ‘ग्याप’मा नयाँ पुल निर्माणका लागि सम्झौता गरिएको हो। योजना कार्यालयका अनुसार अहिलेको स्थानबाट पूर्वतिर पुल सार्नुपर्ने भन्दै काम रोक्न मेयर वडले दबाब दिइरहेका छन्।

निर्माण सम्झौता खारेजी गरेर स्थान परिवर्तन गर्दा पुल निर्माण गर्न थप चार वर्ष समय लाग्ने सम्बद्ध अधिकारी बताउँछन्। मेयरले पुल सार्नुको कारण भने खुलाएका छैनन्। मोहना पुल पार गरेर गौरीफन्टा नाका पुग्न झण्डै एक सय मिटर सडक कञ्चनपुरमा पर्छ। कञ्चनपुरको भूभाग भए पनि विगतदेखि कैलालीले व्यवस्थापन गर्दै आएको नाका गत वर्षबाट कञ्चनपुर प्रशासनमातहत गएको छ।

पुल सार्न मेयरले पटकपटक दबाब दिएपछि मेयरको दबाबबारे केन्द्रमा समेत जानकारी गराएर केन्द्रबाट पनि पुल सार्नुको कारणबारे बुझ्न योजना कार्यालयलाई निर्देशन आएको छ। निर्माण सम्झौताविपरीत पुल सार्नुको कारणबारे बुझ्न खोज्दा मेयर वडसँग सम्पर्क हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...