पूर्वी नवलपरासी , देवचुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड ) ले नवलपुरलाई क्रान्तिकारीहरुको गढ बनाउने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) नवलपुरको आयोजनामा देवचुलीमा आयोजित राजनीतिक तथा बैचारिक प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले स्थानीय तह मात्रै नभई प्रदेश र संघमा समेत गठबन्धन हुने बताउँदै नवलपुरलाई क्रान्तिकारीहरुको गढ बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ;नवलपुरलाई एमाले जस्तो प्रतिगमनकारी अवसरवादीहरुको होईन क्रान्तिकारीहरुको गढ बनाउनुपर्ने हुन्छ । त्यस्का लागि सबैले सङ्कल्प गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
यसअघि प्रदेश र संघको निर्वाचनको मुखमा बामपन्थी पार्टीबीच समृद्धि र विकासका लागि बाम गठबन्धन गरेपनि केपी ओलीको व्यक्तिवादी, चटके प्रवृति, निरङ्कुस, अंहकारले गर्दा बाम गठबन्धनले पूर्णता पाउन नसकेको प्रचण्डको भनाई थियो । सामाजिक न्याय, राष्ट्रको हित र देशमा राजनीतिक स्थायित्वका लागि एकता गरेपनि पार्टीमा निकै ठूलो अस्वस्थ गुटबन्धी भएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, समाजवादको नयाँ यात्रालाई कसले रोक्यो ? के कारणले असफल पारियो ? त्यो सबैले बुझ्न जरुरी छ ।
प्रचण्डसँग नसक्ने भईयो भनेर ओली सरकारले संसद विघटन गरेको प्रसंग उल्लेख गर्दै उहाँले भन्नुभयो पार्टीमा पराजित भएको रिस संसदमा फेर्न पाईन्छ ? नेपाल राष्ट्र र संविधानविरुद्ध घात गर्ने दुस्साहास ओलीले गरेको उहाँको आरोप थियो । उहाँले थप्नुभयो, एमालेका नेता कार्यकर्ता नराम्रा होईनन् तर ओलीको अंहकारले एमाले पार्टी सिद्धने भयो ।
आगामी निर्वाचनमा प्रतिगमन र यसखाले सबै प्रवृतिका विरुद्ध संर्घष गर्नुको विकल्प नरहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो केपी ओली मलामी जाँदा पनि बाजा बजाउँदै नाच्दै हिंड्ने मान्छे हुन् । बालुवाटारबाट बालकोट जानु भनेको राजनीतिक मृत्यु हो नि त
उनीहरुको एकमात्र उद्देश्य माओवादी कसरी सिध्याउने भन्ने नै रहेको बताउँदै यसमा सचेत हुन जरुरी रहेको बताउनुभयो । अबको निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र सबै उत्पिडित जनताको उत्थानका लागि लडाई भएको प्रचण्डको भनाई थियो । उहाँले भन्नुभयो, जन्माउने हामी, त्यस्को फल खाने अरु, उल्टो यहि नेर भयो । यो उल्टो सच्याउनु छ अहिले ।
केपी ओलीको राजावादीसँग साठगाँठ रहेको र गणतन्त्रवादी नरहेको आरोप लगाउनुभयो । वर्तमान गठबन्धन तोड्नका लागि राजावादी राप्रपासँग लागेर एमाले लागिरहेको उहाँको आरोप थियो ।
तीन वर्ष अघि सहारा पार्टी प्यालेसमा नै प्रशिक्षण गरेको प्रचण्डले स्मरण गराउनुभएको थियो । करिब ४३ वर्षअघि पार्टीको नवलपुर जिल्लाको सेक्रेटरीको रुपमा काम गरेको स्मरण गराउँदै प्रचण्डले देशमा बहुदलिय शासन स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । त्यस्ले देशको राजनीतिमा परिवर्तन ल्याउन नसकेका कारण जनयुद्धमार्फत परिवर्तन विस्तृत शान्ती सम्झौता गर्दै देशमा गणतन्त्र स्थापना गर्दै नव युगको शुरुवात गरेको बताउनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका ईन्चार्ज हितराज पाण्डेले माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा नै ठूलो पार्टीका रुपमा स्थापित गर्ने बताउनुभयो । पार्टीका विरुद्ध विभिन्न षडयन्त्र भईरहेको बताउँदै उहाँले सबै मिलि परास्त गर्न सबै एकतावद्ध हुनुपर्ने बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले पार्टीको नीति विधिमा रहेर जनताको घरदैलोमा जाने बताउनुभयो । अबको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले उपलब्धीमुलक परिणाम ल्याउने दावी गर्नुभयो । नवलपुरका पार्टीका कार्यकर्ताको महत्त्वपूर्ण हात रहेको उहाँले बताउनुभयो ।
माओवादी केन्द्र नवलपुरका ईन्चार्ज किशान शर्मा गैरेले जिल्लामा पनि गठबन्धनका विषयमा घनिभुत छलफल चलिरहेको बताउँदै पार्टीले नवलपुरमा फड्को मारिरहेको बताउँदै अझै सक्रियतापूर्वक लाग्न आग्रह गर्नुभयो । उहाँले सबैको योगदानले नै प्रदेशमा एक नम्बरको पार्टी हुने र बनाउने बताउनुभयो ।
माओवादी केन्द्र देवचुलीका अध्यक्ष सत्यनारायण भुसालले स्वागत गर्दै समाजवादी क्रान्तीका लागि माओवादीलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
प्रचण्डले आज सहिद परिवारको घरमा खाना खानुभएको छ । देवचुली लक्ष्मीपुरमा रहेको सहिद परिवार जशबहादुर शारु मगरको घरमा खाना खानुभएको हो । सहिद फुलमायाको परिवारसँग उहाँकै घरमा प्रचण्डले बिहानको खाना खानुभएको माओवादी केन्द्र नवलपुरका अध्यक्ष धनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।