नवलपुर
नवलपुरमा चुलिएको भूमिहीन सुकुम्बासीको आन्दोलनलाई साम्य पार्न आज देवचुली नगरपालिकामा विभिन्न राजनीतिक दल, सुकुम्बासी संघर्ष समितिका पदाधिकारी र नगरपालिकाका प्रतिनिधि बिच छलफल वार्ता सम्पन्न भएको छ ।
वार्तामा नेपाली कांग्रेस देवचुलीका सभापति डिल्लीराम कडरिया, नेकपा एमाले नगर अध्यक्ष कृष्णबहादुर के.सी. माओवादी केन्द्रका अध्यक्ष सत्यनारायण भुसाल र जसपाका नगर अध्यक्ष कृष्ण राज गैरे त्यसैगरी जसपा गण्डकी प्रदेश उपाध्यक्ष नारायण भण्डारी लगायतका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुले भूमिहीन सुकुम्बासीले लालपुर्जा नपाएसम्म चुनावमा सहभागी नहुने प्रतिवद्धता सामुहिक रुपमा जाहेर गरेका छन । नवलपुरमा केही समयदेखि भूमिहीन सुकुम्बासीहरुले नो लाल नो लालपुर्जा भन्दै चुनाव र राजनीतिक दलहरुलाई बहिस्कार गर्दै आइरहेका छन् ।