३० चैत, काठमाडौं । नेकपा एमालेको ललितपुर महानरपालिका कमिटीले मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यको नाम सिफारिस गरेको छ ।
एमाले नेताहरुका अनुसार व्यञ्जनकारले नै मेयरको टिकट पाउने सम्भावना बढी छ । किनकी अर्का आंकाक्षी प्रेम महर्जनले यसपटक मेयरमा दाबी नै गरेनन् ।

सत्तारुढ गठबन्धनले महानगरपालिकामा भागवण्डा गरेको छैन । तर गठबन्धनमा रहेको माओवादी केन्द्र र एकीकृत समाजवादीले मेयरमा दाबी नगरेकाले ललितपुरको मेयर कांग्रेसले पाउने सम्भावना बढी छ ।
कांग्रेसबाट वर्तमान मेयर चिरिबाबु महर्जनसँगै प्रेमकृष्ण महर्जन आकांक्षी छन् । दुबै कांग्रेसको संस्थापन समूहका हुन् । प्रेमकृष्णलाई केन्द्रीय सदस्य उदयशमशेर राणा, जीतजंग बस्नेतलगायतको साथ छ भने चिरिबाबुलाई पूर्वजिल्ला सभापति मदन अमात्य लगायतका नेताहरुले अघि बढाएका हुन् । सभापति शेरबहादुर देउवाको ‘प्रिय’ भएकाले चिरिबाबुले नै मेयरको टिकट पाए आश्चर्य मान्नु नपर्ने कांग्रेस ललितपुरका एक नेता बताउँछन् ।