सभापतिको मनोनयनबाट चन्द्रकान्त शर्मा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

काठमाडौं/दोहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कतारबाट सहभागी चन्द्रकान्त शर्मा (केदार) पार्टीको विधानबमोजिम सभापति गगनकुमार थापाबाट महाधिवेशन प्रतिनिधिमा मनोनीत भएका छन्।
लामो समयदेखि कतारलाई कर्मथलो बनाएर नेपाली कांग्रेसको प्रवासस्थित संगठन जनसम्पर्क समिति कतारमार्फत पार्टीको संगठन विस्तार, राजनीतिक गतिविधि तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा प्रारम्भिक प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि बन्नबाट भने वञ्चित भएका थिए।

महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली सार्वजनिक हुँदा शर्माको नाम मनोनीत प्रतिनिधिका रूपमा समावेश भएपछि उनको राजनीतिक योगदान र निरन्तर सक्रियताको कदर भएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ ।

महाधिवेशन प्रतिनिधिमा मनोनीत भएपछि शर्माले आफूले न्याय पाएको अनुभूति भएको प्रतिक्रिया दिएका छन्। उनले लामो समयदेखि पार्टीप्रति इमानदारी र निष्ठाका साथ काम गर्दै आएका कार्यकर्ताको योगदानलाई नेतृत्वले पहिचान गरेको भन्दै खुसी व्यक्त गरे।
“राजनीतिमा इमानदार र निष्ठावान भएर काम गर्ने कार्यकर्तालाई नेतृत्वले चिन्नु खुसीको विषय हो। मैले न्याय पाएजस्तो महसुस गरेको छु,” शर्माले भने।

प्रवासमा रहेर पनि पार्टीको संगठन र राजनीतिक गतिविधिमा निरन्तर योगदान पुर्‍याउँदै आएका शर्माको मनोनयनलाई कतारस्थित कांग्रेसजनले प्रवासी कार्यकर्ताको योगदानको सम्मानका रूपमा लिएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र प्रवासमा रहेका कार्यकर्ताको भूमिकालाई समेत नयाँ ढंगले सम्बोधन गर्ने अपेक्षा गरिएको छ। शर्माको मनोनयनले प्रवासमा लामो समयदेखि संगठनमा सक्रिय रहेका तर विभिन्न कारणले औपचारिक प्रतिनिधित्वबाट बाहिर रहेका कार्यकर्ताको योगदानलाई पार्टी नेतृत्वले मूल्यांकन गर्न थालेको सन्देशसमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search