मिति: २०८३-०३-१९
श्रीमान् माननीय परराष्ट्रमन्त्रीज्यू
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं, नेपाल ।
विषय: रोमानियाको बुखारेस्टमा नेपालको आवासीय राजदूतावास स्थापना गरिदिन अनुरोध ।
महोदय,
हामी रोमानियामा रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा संलग्न नेपाली नागरिकहरू, नेपाल सरकारसमक्ष अत्यन्त सम्मानपूर्वक यो अनुरोध प्रस्तुत गर्दछौं ।
नेपाल र रोमानियाबीच सन् १९६८ देखि कूटनीतिक सम्बन्ध कायम रहेको छ । पछिल्ला केही वर्षमा रोमानिया नेपाली श्रमिकहरूको प्रमुख युरोपेली गन्तव्य बनेको छ । नेपाल सरकार र रोमानिया सरकारबीच सम्पन्न पहिलो द्विपक्षीय परामर्श संयन्त्र (Bilateral Consultation Mechanism–BCM) बैठकमा समेत रोमानियामा ५५,००० भन्दा बढी नेपाली कार्यरत रहेको उल्लेख गरिएको छ। साथै, रोमानियाले नेपाललाई बुखारेस्टमा नेपाली कूटनीतिक नियोग स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो ।
आज रोमानियामा नेपाली समुदाय केवल श्रमिक समुदाय मात्र होइन; उनीहरू नेपालको आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएका प्रतिनिधि नागरिक हुन् । उनीहरूले आफ्नो श्रम, इमानदारी र अनुशासनका माध्यमबाट नेपालको प्रतिष्ठा उँचो बनाइरहेका छन् ।
तर विडम्बना, यति ठूलो नेपाली समुदाय हुँदाहुँदै पनि रोमानियामा नेपालको आफ्नै आवासीय राजदूतावास छैन । हाल कन्सुलर सेवा जर्मनीस्थित नेपाली दूतावासमार्फत सञ्चालन भइरहेको हुँदा सामान्य पासपोर्ट नवीकरण, यात्रा प्रमाणपत्र, कानुनी कागजात प्रमाणीकरण, आपतकालीन उद्धार, श्रम विवाद तथा अन्य अत्यावश्यक सेवाका लागि नेपालीहरूले ठूलो आर्थिक, भौतिक र मानसिक भार व्यहोर्नुपरेको छ ।
हामी नेपाल सरकारसमक्ष निम्न आधारहरू प्रस्तुत गर्दछौं–
१. जनसंख्याको आधार
रोमानियामा ५५,००० भन्दा बढी नेपाली कार्यरत छन्, जुन युरोपका सबैभन्दा ठूला नेपाली श्रमिक समुदायमध्ये एक हो ।
२. श्रमिक सुरक्षाको आधार
दूतावासको अभावमा श्रम शोषण, करारसम्बन्धी विवाद, दुर्घटना, बिरामी, मृत्यु वा अन्य आपतकालीन अवस्थामा तत्काल सरकारी उपस्थितिको कमी महसुस भइरहेको छ ।
३. कन्सुलर सेवाको आधार
पासपोर्ट नवीकरण, ट्राभल डकुमेन्ट, पावर अफ अटर्नी, जन्म, विवाह तथा अन्य कागजात प्रमाणीकरणजस्ता सेवाहरू सहज र छिटो उपलब्ध हुन आवश्यक छ ।
४. नेपालको आर्थिक हित
रोमानियामा कार्यरत नेपालीहरूले नियमित रूपमा नेपालमा रेमिट्यान्स पठाइरहेका छन्, जसले नेपालको अर्थतन्त्रलाई प्रत्यक्ष योगदान पुर्याइरहेको छ ।
५. द्विपक्षीय सम्बन्ध विस्तार
दूतावास स्थापना भएपछि नेपाल–रोमानिया सम्बन्ध व्यापार, पर्यटन, शिक्षा, लगानी, सूचना प्रविधि, कृषि तथा सांस्कृतिक आदान–प्रदानका क्षेत्रमा अझ सुदृढ हुनेछ ।
६. राष्ट्रिय प्रतिष्ठा
विश्वका धेरै मुलुकहरूले आफ्ना नागरिकको उल्लेख्य उपस्थिति भएका देशहरूमा कूटनीतिक नियोग स्थापना गरेका छन् । रोमानियामा नेपालको दूतावास स्थापना हुनु नेपाली नागरिकप्रतिको राज्यको उत्तरदायित्व र राष्ट्रिय गौरवको विषय पनि हो ।
अतः, नेपाल सरकारसँग हाम्रो विनम्र तर दृढ अनुरोध छ कि: रोमानियाको बुखारेस्टमा यथाशीघ्र नेपालको आवासीय राजदूतावास स्थापना गरियोस् ।
दूतावास स्थापना नभएसम्म अस्थायी रूपमा कन्सुलर सेवा केन्द्र वा घुम्ती कन्सुलर सेवा सञ्चालन गरियोस् ।
नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सेवा प्रवाहलाई प्राथमिकतामा राखी आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरियोस् ।
हामी विश्वास गर्दछौं कि नेपाल सरकारले विदेशमा रहेका आफ्ना नागरिकहरूको सम्मान, सुरक्षा र अधिकारलाई सर्वोच्च प्राथमिकतामा राख्नेछ । रोमानियामा नेपाली दूतावास स्थापना हुनु केवल प्रशासनिक निर्णय मात्र नभई विदेशमा रहेका हजारौँ नेपालीप्रति राज्यको उत्तरदायित्व, सम्मान र दूरदर्शी कूटनीतिक कदम हुनेछ ।
“जहाँ हजारौँ नेपाली छन्, त्यहाँ नेपालको उपस्थिति पनि हुनुपर्छ । जहाँ नेपालको झण्डा आवश्यक छ, त्यहाँ नेपाली दूतावास पनि आवश्यक छ ।”
यस अनुरोधप्रति सकारात्मक निर्णय हुने अपेक्षासहित ।
भवदीय,
रोमानियामा कार्यरत नेपाली नागरिकहरूको तर्फबाट
नाम: बिमल अधिकारी
ठेगाना: बुखारेष्ट,रोमानिया










