दोहा । गोरखा सेवा समाज कतारको आयोजनामा बृहत् सांस्कृतिक इद धमका आयोजना गर्ने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद-अल-अदाको अवसर पारेर “मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ” उक्त कार्यक्रम आयोजना गर्न लागिएको गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले जानकारी दिएका हुन् ।
उक्त कार्यक्रममा सांगीतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र भर्षटायल गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ कतार आउने कुराको सूचना कलाकारहरुले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत दिँदै उनीहरुले कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।
कार्यक्रम जुन १७ तारिक सोमबार अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुने कार्यक्रमका संयोजक राकेश श्रेष्ठले बताएका छन् ।
कतार आउने कलाकारको भिसालगायतका सबै प्रक्रिया पूरा गरेर टिकट बिक्री गर्न शुरु गरेको गोरखा सेवा समाजले सबै नेपालीहरूको सहजताका लागि कतारमा रहेका सम्पूर्ण नेपाली रेष्टुरेन्ट , सपिङ्ग महल र दोहामा सक्रिय रहेको संघसस्थाहरुलाइ उपलब्ध गराइसकेको छ ।
आयोजक सस्था गोरखा सेवा समाजले मानव सेवारत आश्रमको सत्कर्मका लागि गरिएको यस सांस्कृतिक कार्यक्रमको टिकट खरिद गर्नु नै मानवीय सेवा हुने भएकाले कतारमा रहेका नेपालीहरुलाइ टिकट लिइदिन हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम संयोजक राकेश श्रेष्ठका अनुसार कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारको दोहा , सनैया र अल्खोर बाट निःशुल्क यातायातको व्यवस्थासमेत गरिएको छ ।