लालबहादुर ढेंगा,दुबई,युएई । यहि १० डिसेम्बर आईतबारका दिन दुबईस्थित याक एण्ड यति एभरेष्ट क्लबको हलमा नवलपुर सेवा समाज युएईको भव्य सांगीतिक कार्यक्रमका साथ चौथो महाधिवेशन सम्पन्न भएको छ । पूरानो कार्यसमितिको दुई बर्षे कार्यकाल सकिएपछि सो महाधिवेशन गरेको हो ।
दुई चरणमा विभाजित गरिएको कार्यक्रममा पहिलो चरणको औपचारिक कार्यक्रमलाई नवलपुर सेवा समाज युएईको निवर्तमान महासचिव गोपाल पराजुलीले संचालन गरेको थियो । जस्मा प्रमुख अतिथिको रुपमा नेपाली समाज युएईका अध्यक्ष बेदप्रसाद अर्याल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सोही समाजका निवर्तमान अध्यक्ष सम्पत थापाले गरेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी र पत्रकारहरु रहेका थिए ।
पहिलो औपचारिक कार्यक्रमको लगत्तै निर्वाचन समितिका संयोजक मणिप्रसाद भुर्तेलले आगामी दुई बर्षे कार्यकालका लागि समाजको हितमा सधै लागि पर्ने निकै जोशिलो र मिलनसार गोपाल पराजुलीको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति घोषणा गरेको छ । सबै पदाधिकारीहरुको नामावली क्रमशः पढेर सुनाएपछि नवनिर्वाचित भएका सबैलाई सपथ ग्रहण पनि गराएका थिए । उपस्थित अतिथिहरुबाट नयां जोश र जागरका साथ आएका नयां कार्यसमितिलाई शुभकामना समेत दिएका थिए ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रमलाई भने कृष्ण परियारले संचालन गरेका थिए । युएईमै पहिलो र ख्यातिप्राप्त नौमति पन्चेबाजाले दर्शकहरुका साथ अतिथिहरुलाई समेत नचाउन भ्याए । स्थानीय कलाकारहरुको धेरै सांस्कृतिक प्रस्तुतिहरुले हललाई तताउन सफल भएको देख्न सकिन्थ्यो ।