कावासोति,नवलपुर ।
नेपालकै उत्कृष्ट मानिने अमलटारी होमस्टे (घरबास) अध्ययन तथा अवलोकनको गन्तव्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१५ स्थित अमलटारी यतिखेर थारु संस्कृतिको प्रत्यक्ष अवलोकन एवं अनुभूति गर्न पाउने स्थलका रुपमा विकास भएको छ । होमस्टे क्षेत्रमा बोटे र थारु समुदायहरुको बसोबास रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो होमस्टेमा जंगल सफारी, हात्ती र गाडा सफारी, नारायणी नदीमा डुङ्गा सफारी र फिसिङ गरिन्छ । यो होमस्टेमा लोकल कुखुराको मासु तथा माछाको स्वाद लिन सकिन्छ ।
पूर्व–पश्चिम राजमार्गको कावासोतीको डण्डाबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने अमलटारी गाउँमा थारु, मुसहर, बोटेलगायत २२ वटा घरमा होमस्टे संचालनमा छन् । चिचर, माछा, घोगी, अचार, हाँसबाट बनाइने थारु परिकारले यहाँ पाहुनालाई स्वागत गरिनेछ ।
यो होमस्टेमा पाहुनाको स्वागत र मनोरञ्जनका लागि थारु र बोटेको संस्कृति झल्कने थारुको लाठी, झुमरा र जोगेडा तथा बोटेको गोलेनी नाच प्रस्तुत गरिने छ । मध्यवर्तिभित्र आउने गैंडा, बाघ, भालु, चराचुरुङ्गी र जैविक विविधताले पर्यटकलाई लोभ्याउने छ ।
३१ घर रहेको यो होमस्टेमा १२४ जनाको क्षमता छ । अमलटारी पुग्नका लागि नारायणघाट हुँदै जानुपर्दछ। नारायणघाटबाट ३५ किलोमिटरको यात्रापछि अमलटारी पुग्न सकिन्छ ।
यो समाचार नवलपुर न्युजमा प्रकाशित छ ।