आफ्नै बा–आमाका नाममा सरकारी बजेटबाट ट्रस्ट र स्मृति कोष खडा गरेपछि गण्डकी सरकारका मन्त्रीहरुको कडा आलोचना भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र केन्द्रीयस्तरका नेताका निधन भैसकेका बा–आमाका नाममा पनि बजेट विनियोजन भएको छ ।
मुख्यमन्त्री पोखरेलका बाबु गोवद्र्धन शर्माको स्मृतिमा कोष खडा गरेर ५० लाख प्रदेश सरकारबाट विनियोजन गरिएको छ । यस्तै, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले आफ्नै बाबु पुननारायण र आमा धनकुमारी श्रेष्ठको स्मृतिमा ट्रस्ट बनाएर २ फरक शीर्षकमा १ करोड विनियोजन गरेका छन् । नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य अर्जुन जोशीका बाबु अमृत जोशीको स्मृतिमा २० लाखको पार्क बनाउन लागिएको छ भने पर्वतकै कांग्रेस नेता डिल्लीराम लामिछानेको स्मृतिमा अर्को पार्क बनाउन २० लाख रुपैयाँ छुट्याइएको छ ।
यसरी बजेट पर्नेमा कांग्रेसमात्रै होइन, माओवादी, एमाले लगायत दलका नेता र सहिदहरुको नाममा पनि छ । कांग्रेस संस्थापक बिपी कोइरालाको स्मृतिमा प्रदेशका विभिन्न १२ ठाउँमा पार्क र भवन बनाउन बजेट छुट्याइएको छ । नवलपुरको कावासोतीमा १० लाख, स्याङ्जाको गल्याङमा ५ लाख, कास्कीको पोखरा २१ मा १० लाख, ११ मा १० लाख र रुपा ६ मा १० लाख छ ।
यस्तै, नवलपुरकै बुलिङटारमा १० लाख, स्याङ्जाको बिरुवामा १० लाख, कास्कीको माछापुच्छ्रेमा १० लाख, नवलपुरकै बुलिङटारमा अर्को १० लाख, देवचुलीमा १० लाख, मनाङको चामेमा १५ लाख र लमजुङको बेंसीसहरमा १० लाख बजेट छुट्याइएको छ । तनहुँको घिरिङमा गणेशमान स्मृति पार्क बनाउन १० लाख विनियोजन भएको छ ।
मुख्यमन्त्री र मन्त्रीकै बाआमाको नाममा खुलेका संस्थामा डेढ करोडभन्दा बढी बजेट
कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसमा शान्ति स्मारक पार्क बनाउन सरकारले १ करोड छुट्टाएको छ । सिक्लेसबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरु शान्तिवार्ताका लागि पहिलो पटक हेलिकोप्टरबाट उडेर काठमाडौं गएका थिए । पोखरा २८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रेमा हरिबहादुर स्मृति पार्क १० लाख, तनहुँको बन्दीपुरमा सहिद स्मृति पर्यटन पार्क ५ लाख, भानुमा सोही पार्कको लागि २ ठाउँमा १० लाख, पर्वतको फलेबासमा ५ लाख, बागलुङको ताराखोलामा १० लाख छ । हेम गुरुङ स्मृति पार्क १० लाख, काठेखोलामा करिना सहिद स्मृति पार्क र निसीखोलामा तेजेन्द्र स्मृति पार्कका लागि १०÷१० लाख, स्याङ्जामा गोरखा स्मारक ट्रस्ट १० लाख, गोरखाको बारपाकमा सहिद स्मृतिपार्क बनाउन ५ लाख विनियोजन गरिएको छ ।
पाङराङ सहिद स्मृति ५ लाख, भालु पहाड सहिद स्मृति ५ लाख, रुपामा सहिद स्मृति गेट बनाउन १० लाख, अन्नपूर्णमा छवि स्मृति मार्ग निर्माण गर्न १० लाख, कावासोतीमा सहिदस्मृति मार्ग बनाउन १५ लाख, वालिङमा सपना स्मृति रिङरोड बनाउन १० लाख, कास्कीकै थम्मन महेश स्मृति प्रतिष्ठानलाई ५ लाख अनुदान दिने बजेट आएको छ । जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेल स्मृति छात्रवृत्ति सञ्चालन गर्न ३० लाख, श्रष्टा स्मृति पार्क बनाउन कास्कीमा ५ लाख, रुपामा सिद्धार्थ स्मृति गुम्बा बनाउन ५ लाख, पोखरा ३ मा वीरेन्द्र स्मृति पार्क ५ लाख, पशुपति स्मृति पार्क पोखरा ३३ मा २० लाख, सहिद स्मृति पार्क रुपामा १० लाख, सहिद स्मृति प्रतिष्ठान पोखरा १९ मा २० लाख, सहिद स्मृति पार्क पोखरा १६ मा १५ लाख छुट्टिएको छ ।
रुपाको पुष्पकमल स्मृति प्रतिष्ठानमा १० लाख, गोरखामा भीमसेन स्मृति प्रतिष्ठान बनाउन ५० लाख, सन्ध्या स्मृति पार्क घिरिङमा १० लाख, भानु २ मा सहिद स्मृति पार्क १५ लाख, भानुमा कल्याण खनाल स्मृति भवन बनाउन २० लाख, स्मृति पार्क बनाउन भानु ७ मा १० लाख, शैलजा आचार्य स्मृति प्रतिष्ठान ५ लाख, हुप्सेकोटमा प्रदुक स्मृति पार्क १० लाख छ भने कृष्णमोहन स्मृति सभाहल १० लाख, इन्द्रमान गुरुङ स्मृति पार्क १० लाख, मदन केसी स्मृति भवन बेनीमा १२ लाख, दूधपोखरीमा सहिद स्मृति भवन बनाउन ५ लाख, सोही पालिकामा अर्को ५ लाख, रमेश स्मृति भवन १० लाख, सरला सपना स्मृति भवन १० लाख, सहिद स्मृति भवन स्याङ्जामै १० लाख, गिरी स्मृति खेल मैदान १० लाख, हर्क गुरुङ स्मृति पार्क १५ लाख, तनहुँमा सहिद स्मारिका बाटिकालाई २० लाख र छलिमाया स्मृति हाइवे अस्पताल निर्माण गर्न ५० लाख बजेट विनियोजन भएको छ । विभिन्न व्यक्तिका स्मृतिमा खुलेका ५० भन्दा बढी संघसंस्था र प्रतिष्ठानका लागि १० करोडभन्दा बढी बजेट विनियोजन गरिएको छ ।