कावासोती । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नवलपुरका सबै मतदान स्थलहरुमा आज साँझसम्म मतदान सामाग्री पुग्ने जनाईएको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लाल प्रसाद शर्माका अनुसार जिल्लाको पहाडी गाउँपालिकाबाट अहिलेसम्म धेरैजसो मतदान अधिकृतहरु सामाग्री लिन आएका छन् । केही मतदान केन्द्रहरुबाट मात्रै आउन बाँकी छ । भने , नगरपालिकाहरुमा अहिलेसम्म धेरै ठाउँका बाँकी छन् । तर, आज साँझसम्म सबै मतदान केन्द्रहरुमा मतदान सामाग्री पुग्ने उहाँले जानकारी दिनुभयो । मतदानका लागि आवश्यक पर्ने मतपेटिका , मतपत्र , छाप लगायतका आवश्यक सबै सामाग्री सम्बन्धित मतदान केन्द्रहरुमा लगिने छ ।
भोलि र पर्सि सम्बन्धित मतदान केन्द्रहरुमा नमुना मतदान अभ्यास गराउने तथा परिचयपत्र वितरणको काम हुने भएकाले आज नै सबै केन्द्रमा मतदान सामाग्री पुग्नुपर्ने भएकाले त्यसै अनुसार सम्बन्धित मतदान अधिकृतहरुलाई आजसम्म सामाग्री लैसक्न भनेको र सामाग्री लिन आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।
नवलपुरमा १ सय १३ मतदान स्थल छन् । जस अन्तरगत १० वटा मतदान स्थललाई अतिसंवेदनशीलमा राखिएको छ । भौगोलिक विकटता, विगतको सुरक्षा विश्लेषण, राजनीतिक दलबीचको प्रतिस्पर्धा, संचार, ‘रेस्पोन्स टाइम’, सामाजिक संरचना आदिको आधारमा जिल्लाका १० वटा मतदान स्थललाई अति संवेदनशिल राखिएको छ । ३८ वटा मतदान स्थललाई संवेदनशिल राखिएको छ । भने , ६५ वटा मतदान स्थललाई सामान्यमा राखिएको छ ।