नवलपुरमा स्थानीय तह निर्वाचनका लागि १४९५ कर्मचारी, ८९७ स्वयंसेवक परिचालन गरिने

बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्यको निर्वाचन गराउने प्रयोजनका लागि नवलपुर जिल्लाका सबै ८ वटा पालिका तहमा १४९५ कर्मचारी खटाउन लागिएको छ ।

आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै ११३ मतदानस्थलका २९९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश अर्जुन अधिकारीले नवलपुर अनलाइनलाई जानकारी  गराउनुभयो।

५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी खटाउन लागिएको हो।

सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी र ३ जना स्वयंसेवक समेत परिचालन गर्न पाईने छ। मतदान अधिकृतको लागि २९९ मतदान केन्द्रमा ३ जनाको दरले ८९७ स्वंयसेवक परिचालन गर्ने अधिकार दिईएको छ।

२९९ मतदानकेन्द्र रहेको नवलपुरमा ५०० भन्दा थोरै मतदाता भएका २ वटा केन्द्र रहेका छन्। मध्यविन्दु नगरपालिकाको वडा ४ र १३ मा क्रमश ४४८ र ३७१ मतदाता रहेका छन्। ५०० भन्दा थोरै मतदाता भएको केन्द्रमा ४ जना कर्मचारी परिचालन हुनेछन् भने ५०० भन्दा माथी मतदाता भएको केन्द्रमा ५ जना कर्मचारी परिचालन गर्न लागिएको हो।

२९९ मतदान केन्द्रका लागि ५९८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएको छ। साथै २० जना मतदान अधिकृत जगेडामा राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले नवलपुर अनलाइनलाई जानकारी  गराउनुभयो। २० जना जगेडा मतदान अधिकृतलाई तालिम दिएर राखिने र आवश्यक परेको ठाउँमा तत्कालै परिचालन गरिनेछ। निर्वाचनमा खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी र मावि तहका शिक्षकहरू रहेका छन्।  मतदान अधिकृत र सहायक मतदान अधिकृतको लागि १ दिने तालिम आज र भोलि गरि दुई चरणमा कावासोतीमा संचालन हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search