काठमाडौं : आगामी स्थानीय चुनावमा पाँच दलीय सत्ता गठबन्धन गठबन्धनका रुपमा नरहेको नेकपा एमालेको निष्कर्ष छ । ३० वैशाखको चुनावमा पनि गठबन्धन एक नरहने निचोड निकालेर एमाले असन्तुष्ट गठबन्धनका नेता/कार्यकर्तासँग अघोषित तालमेलको नीतिमा जुटेको छ ।
एमाले नेता विजय सुब्बा विपक्षी दलको असन्तुष्ट पक्षलाई आफ्नो पक्षमा ल्याउने प्रयासलाई स्वभाविक मान्छन । ‘यसै पनि पाँच दल एकातिर एमाले अर्कोतिर छ । यो बेला गठबन्धनको असन्तुष्ट पक्षको आवाजलाई एमालेले ख्याल गर्नु अन्यथा विषय रहेन’ सुब्बाले मध्यान्हसँग भने ।
एमालेका अध्यक्ष केपी शर्मा ओली त गठबन्धन संस्कृत नै गलत भएको तकृ गर्दै हिडिरहेका छन् । बिहीबार मात्रै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धनलाई ‘लुतो’ रोगसँग तुलना गरे ।
अध्यक्ष ओलीले गठबन्धनले पीडा दिएको पनि स्वीकार गरे । तर, केहीबेरको मात्रै पीडा भएको उनको तर्क छ । ‘पाँचदलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन । तर कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच गर्छ । केही समयका निम्ति पीडा हो’ एमाले काठमाडौं महानगर कमिटीले गरेको कार्यक्रममा उनले भने ।
गठबन्धनले दिएको पीडालाई निर्वाचनको माध्यमबाट पन्छाउने उनको उद्घोष छ । उनी भन्छन्, ‘लुतो पन्छाउने एउटा दिन हुन्छ नेपालमा । यसपल्ट चाहिं दुईवटा दिन हुने भो । एउटा वैशाख ३० गते, अर्को मंसिरतिर कहिले हो ।’
३० वैशाखमा स्थानीय तहको चुनाव हुँदैछ भने ओलीले भनेको मंसिर प्रदेश र संघीय चुनावको समय हो । ओलीले प्रदेश र संघीय चुनावमा पनि अहिलेको पाँच दलीय गठबन्धन कायम रहन सक्नेतर्फ संकेत गर्दै भनेका छन् ।
तर, ओलीले पनि गठबन्धनभित्रको असन्तुष्ट पक्षलाई आतमा लिएर अगाडि बढ्ने पार्टीको नीति रहेको प्रष्ट भनेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बाहेक सबैसँग सहकार्य गर्न सकिने उनको सार्वजनिक आह्वान छ ।
अर्थात, पाँच दलीय गठबन्धनलाई आपसमा एक रहन नदिएर त्यसको लाभ लिने नभए असन्तुष्ट कार्यकर्तासँग अघोषित तालमेल गरेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने एमालेको प्रष्ट नीति छ ।
पछिल्लो समय गठबन्धनभित्र देखा परेको असन्तुष्टिबाट एमाले खुसी पनि छ । गठबन्धन गरेको कांग्रेसको तर्फबाट ६ सय स्थानयि तहको प्रमुखमा उम्मेद्वारी परेको छ । कांग्रेसको आन्तरिक तथ्याङ्क अनुसार, २ सय भन्दा बढी कांग्रेसका बागी उम्मेदवार रहेका छन् ।
माओवादी केन्द्रबाट समेत केही बागी उम्मेद्वारी परेको छ । सत्ता गठबन्धन बागी उम्मेद्वारी फिर्ता गर्ने प्रयासमा रहेका बेला एमालेले भने असन्तुष्ट पक्षलाई थप उचालेर आफ्नो पक्षमा नतिजा पार्ने प्रयासमा लागेको हो । एमालेका महासचिव शंकर पोखरेल आफुहरुले सुरु देखि नै पाँच दलीय गठबन्धन अप्राकृति रहेको र लामो समय नटिक्ने बताउँदै आएको सम्झन्छन् ।
लामो नटिक्ने गठबन्धनले भन्दा सधैं स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको एमालेले चुनाव जित्ने उनको कथन छ । नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा लाग्दैमा बितेको र अहिले त्यो अवस्था नभएको भन्दै उनी जनताले विकास र समृद्धिको पक्षधरलाई चुनावमा रोज्नुपर्ने बताउँछन् ।
गठबन्धनका नाममा कार्यकर्ताको लामो समय देखिको लगानी खोसिएको भन्दै उनी असन्तुष्ट नेता/कार्यकर्ताको मनोभावना बुझ्न आफ्नो पार्टी तयार रहेको बताउँछन । महासचिव पोखरेल भन्छन्, ‘अवसरमा समानता हुनुपर्छ । अर्को पार्टीमा पीडित नै भएर रहेको रहेछ भने एमालेमा आउँदा एमालेले न्याय दिन्छ ।’