१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन लागि पर्ने बताएका छन् ।
विहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको सपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यातायात क्षेत्रको समस्या समाधानका लागि यातायात विकास प्राधिकरण बनाउन सकिने बताएका हुन् ।
प्राधिकरण बनाएमा समस्या समाधान गर्नका लागि राज्यको ध्यान केन्द्रित गर्न सकिने भन्दै उनले यसको निम्ति आफूले ध्यान केन्द्रित गर्ने बताए । उनले सरकार र सत्तारुढ गबन्धनलाई पनि प्राधिकरण गठनका निम्ति ध्यान केन्द्रित गराउने उल्लेख गरे ।
उनले भने, ‘यातायात क्षेत्रको विकासको निम्ति आवश्यक पर्ने कुरा हाम्रो यातायात मन्त्रालय नै अलग्गै भएपछि मात्रै यसैमा फोकस भएर काम गर्न सकिन्थ्यो । तर हाम्रो राज्यको अहिले स्थिति तत्काल यातायात मन्त्रालय अलग्गै बनाउन सकिने हैसियतमा पुगेको देखिदैन । त्यसकारण यहाँ स्वागत मन्तव्यको क्रममा जे राखिएको रहेछ, कमसेकम यातायात विकास प्राधिकरण बनाउन सम्भव छ ।’