उदयपुर। एक वर्ष अगाडी त्रियुगा नदिमा आएको बाढीले भाँचिएको पुल अहिलेसम्म मर्मत नहुँदा वर्षा लागेसँगै नदीको बहाव बढ्न थालेपछि स्थानीय समस्यामा परेका छन्। सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दा समस्यामा परेका हुन्।
सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका–५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन।
भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनर्निर्माण नभएपछि वर्षा लागेसँगै समस्या उत्पन्न हुँदै गएको स्थानीयले बताए। सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य भएको गुनासो उनिहरुको छ।
पौडीखेल्न नसक्ने महिला र पुरुष भने सुन्दरपुरबाट त्रियुगा नगरपालिकाको जोगिदह, गाईघाट बजार हुँदै मदन भण्डारी मार्गको ३० किलोमिटर बाटो घुमेर बेल्टारस्थित चौदण्डी नगरपालिकाको कार्यालय पुग्न बाध्य भएको बताईएको छ। ०६७ सालमा निर्माण भएको पुल १२ वर्षपछि गत वर्ष मात्र सम्पन्न भएर सञ्चालनमा आउनै लाग्दा गत असार १९ गते बाढीले भत्काएको थियो।
गाईघाट दिक्तेल सडक कार्यालयकाका अनुसार सडक विभागले यसबारे अहिलेसम्म कुनै निर्देशन नगरेको हुनाले पनि पुल मर्मत हुन नसकेको हो।