आचारसंहिताको ठाडो उल्लङ्घन !

भरतपुर । राजनीतिक दल, उमेदवार तथा दलको भातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको ठाडो उल्लङ्घन भएको छ । तर, निर्वाचन अधिकृतको कार्यालय उजुरी नपरेको भन्दै आचारसंहिता उल्लङ्घनका घटनाप्रति मौन छ ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन भए/नभएकोबारे अनुगमन गरिरहेको बताए । तर, हालसम्म उजुरी नपरेको उनको भनाइ छ ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने, तर उमेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण खुलाई वितरण गर्न बाधा पर्ने छैन भनी उल्लेख छ । तर, नेता तथा कार्यकर्ताहरुले माथि उल्लेखित सबैजसो बुँदा उल्लङ्घन गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले आचारसंहिताको उल्लङ्घन भए/नभएको अनुगमन गरिएको बताए ।

जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यका सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नहुने, जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई मिति, मार्ग र स्थानका बारेमा कम्तीमा ७२ घन्टाअगावै जानकारी गराउनुपर्ने व्यवस्था छ ।

कुनै राजनीतिक दल, उमेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्ने वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन नहुने, एकभन्दा बढी राजनीतिक दल, उमेदवार वा दलको भातृ संगठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने, प्रचलित कानुन वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री लिई जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न नहुने, घर वा जग्गाधनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उमेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने आचारसंहितामा उल्लेख छ ।

त्यस्तै कुनै क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रमजस्ता संस्थालाई नगद वा जिन्सी वितरण गर्न, अनुदान वा आर्थिक सहायता, चन्दा, पुरस्कार दिन वा दिने घोषणा गर्न नहुने भनी आचारसंहितामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search